Nepal communist party

प्रेस वक्तव्य (२०८३ भाद्र १३ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

भोटेकोशी बाढीबाट धनजनको जुन ठुलो क्षति भयो, त्यसबारे हाम्रो पार्टीले उही दिन नै वक्तव्य निकालेर मृत व्यक्तिहरूप्रति श्रद्धाञ्जली र उनीहरूका पीडित परिवारहरूप्रति समवेदना प्रकट गरेको थियो । अब त्यो बाढीबाट जुन ठुलो क्षति भएको छ, त्यसका लागि राहत र उद्धारको जिम्मेवारी हामी सबैको अगाडि आएको छ । त्यसको लागि सम्पूर्ण देशवासी, प्रवास वा विदेशमा भएका नेपालीहरू तथा मित्र राष्ट्रहरू र सरकार समेतको हामीले गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ । आज बिहान बसेको हाम्रो पार्टीको पीवीको अनलाइन बैठकले त्यसबारे कैयौँ महत्त्वपूर्ण निर्णयहरू गरेको छ र ती निर्णयहरूबारे जानकारी दिन यो वक्तव्य जारी गरिएको छ ।
हामीले उक्त दुर्घटनाबाट पीडित जनताको लागि राहत र पुनरुद्धार समेतको लागि बढीभन्दा बढी सहयोग गर्नका लागि सबै जनतासित अपिल गर्दछौँ । हाम्रा सबैतिरका पार्टी सदस्य, समर्थक र जनवर्गीय सङ्गठनका कार्यकर्ता वा सदस्यहरूसित बढीभन्दा बढी रकम जम्मा गर्नका लागि अपिल गर्दछौँ । त्यसरी जम्मा गरिएको रकम सरकारद्वारा कुनै भ्रष्टाचार नगरिकन सदुपयोग हुने विश्वास भएमा सरकारको खातामा नै हस्तान्तरण गरिनेछ वा त्यस प्रकारको विश्वास हुन नसकेमा हामीले सिधै पीडित जनतामा पुर्‍याउने पनि कोशिस गर्ने छौँ । पछि स्थितिको मूल्याङ्कन गरेर त्यसबारे हामीले आवश्यक निर्णय गर्ने छौँ ।
भोटेकोशीमा आएको बाढीको कारण के थियो ? त्यसबारे विस्तृत र गहन अध्ययनको आवश्यकता छ । तिब्बतमा आएको अत्यन्त ठुलो भूकम्पका कारणले कैयौँ ताल फुटेकोले पनि त्यो बाढी आएको भनिन्छ । जे होस्, उक्त विषयमा गहिरो छानबिनको आवश्यकता छ । त्यो बाढीको पूर्व जानकारी थियो वा थिएन ? यदि त्यो जानकारी हुन सकेको भए उक्त बाढीबाट सम्भावित क्षतिलाई कम गर्न सकिन्थ्यो वा सकिन्दैन्थ्यो ? उक्त बाढीबारे जानकारी प्राप्त गर्ने वा जानकारी दिनेबारे चीन वा नेपालकातर्फबाट कुनै कमजोरी ता भएको थिएन ? उक्त सबै विषयमा गहन अध्ययन गरेर जानकारी प्राप्त गर्नुपर्ने आवश्यकता छ । उक्त बाढीका पछाडि जलबायुमा भइरहेको परिवर्तनले पनि कति काम गरेको छ ? अहिले त्यो बाढीबाट जति क्षति पुग्यो, आउने दिनहरूमा त्यो भन्दा बढी क्षति पुग्ने सम्भावना त छैन ? त्यसबारे सबै वातावरणविद् र मौसमका ज्ञाताहरूको ध्यान जानुपर्ने आवश्यकता छ । तथ्यहरूबाट प्रस्ट भइसकेको छ कि उक्त बाढी नेपाल र चीन दुवै देशसित सम्बन्धित छ । सायद दुवै देशको भूगर्भिय संरचना पनि त्यसका लागि जिम्मेवार छ । त्यसकारण नेपाल र चीन दुवै देशमा उच्च तहमा अहिले त्यो बाढीका कारणले पुगेको क्षतिबारे मात्र होइन, त्यसको कारण र भविष्यमा त्यस प्रकारको प्राकृतिक प्रकोपबाट पुग्ने क्षतिलाई रोक्न पनि उच्च तहमा ध्यान जानुपर्ने र काम हुनुपर्ने आवश्यकता छ । अहिलेको वातावरण र हावापानीको समस्या एउटा विश्वव्यापी समस्या हो । त्यसकारण त्यसलाई समाधान गर्न वा त्यस प्रकारका प्राकृतिक विपतमाथि नियन्त्रण गर्नलाई विश्वव्यापी रूपमा नै प्रयत्न हुनुपर्ने आवश्यकता देखिन्छ र त्यसरी त्यसबारे अन्तर्राष्ट्रिय रूपमा पहल गर्नको लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले गम्भीर जोड दिन्छ ।
अन्तमा, उक्त प्राकृतिक प्रकोपद्वारा निधन भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घायल व्यक्तिहरूको शीघ्र उद्धार र राहतको लागि पनि सरकारसित अनुरोध गर्दछौँ । त्यसका साथै बाढीद्वारा पीडित जनताको राहत र पुनरुद्धार समेतका लागि हामीले सबैसित पुन: अनुरोध गर्दछौँ ।
२०८३ भाद्र १३ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top